तपाईँ सुन्दै हुनुहुन्छः

‘बजार अनुगमन प्रभाकारी नहुँदा मुल्यवृद्धि’

रौतहट। रौतहटमा सम्बन्धित निकायले बजार अनुगमनमा ध्यान नदिँदा उपभोक्ताहरू गुणस्तरहीन खाद्यान्न र मनोमानी मूल्यको प्रत्यक्ष मारमा पर्न थाल्नुभएको छ । बजार अनुगमन नहुँदा पसलै पिछे दैनिक उपभोग्य वस्तुको मूल्य फरक हुन थालेको हो । 

विशेषगरी चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया लगायतका प्रमुख बजारमा व्यापारीहरूको मनोमानी बढ्दै गएपछि सर्वसाधारणको जीवनयापन प्रभावित बन्न थालेको छ  । 

चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा प्रल्लाद गौतमका अनुसार, “पहिला चन्द्रपुर नगरपालिकाले एक वर्षमा एक–दुई पटक बजार अनुगमन गर्ने गर्थ्यो, तर हाल अनुगमन नहुँदा व्यापारीहरूको मनोमानी बढेको छ ।” उहाँले भन्नुभयो, बजार अनुगमन नहुँदा होटेलदेखि खाद्य सामाग्री बिक्रेताहरूले उपभोक्ताको स्वास्थ्यको ख्यालै गर्न छोडेको छ ।  

उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेका अनुसार, “जिल्लाका प्रमुख बजारमा नियमित अनुगमन हुनुपर्नेमा पालिकाहरुले ध्यान नदिँदा समस्या उत्पन्न भएको छ । ” उहाँले जिल्लाका १८ वटै स्थानीय तहका बजार अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।  

गौरका स्थानीय बासिन्दा प्रेम चन्द्र झाले पनि बजारका होटल, किराना पसल र मेडिकल क्लिनिकमा गुणस्तरहीन सेवा दिइएको र नियमित अनुगमन नहुँदा उपभोक्ताले ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले चाडपर्वको बेला मात्र नभइ स्थानीय तह तथा प्रशासनले नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । 

चाडपर्व नजिकिँदा तरकारी मूल्य आकाशियो
यसैबीच, तिहार र छठ पर्व नजिकिँदै गर्दा रौतहटका बजारमा तरकारीको मूल्य आकासिएको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण नहुँदा उपभोक्ताले आर्थिक मार खेप्नु परेको छ । 

१० दिन अगाडिसम्म रौतहटको बजारमा प्रति किलो २० रहेको घिरौला यतिबेला ६० देखि ८० रुपैयाँसम्म पुगेको छ । यस्तै १० रुपैयाँ प्रति किलो रहेको भेन्डी ५० देखि ६० रुपैयाँ प्रति किलो पुगेको हो। प्रति किलो ४० रुपैयाँ रहेको भेन्टा हाल १०० रुपैयाँभन्दा माथि पुगेको छ । काउली प्रति किलो १२० देखि १४०, टमाटर र भेन्टा १००, आलु ४० देखि ५०, प्याज ५०, र हरियो खुर्सानी १८० देखि २००, गोलभेँडा १४० देखि १६०, करैला प्रतिकिलो १४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । 

चन्द्रपुर–१० की गृहिणी सोनिया साहले भन्नुभयो, “चाडबाडकै बेला तरकारी र खाद्यान्नको मूल्य अत्यधिक बढ्दा सामान्य परिवारका लागि दैनिक उपभोगका सामग्री खरिद गर्न कठिनाइ भइरहेको छ ।” तरकारी व्यवसायी बेचन साहका अनुसार, “होलसेल बजारबाटै मूल्य वृद्धि भएको हुँदा खुद्रा स्तरमा पनि मूल्य बढ्न बाध्य हुन्छ ।” 

स्थानीय समाजसेवी बसन्त आर्चायले बजार अनुगमन प्रभावकारी नभएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहहरूमा अनुगमन केवल औपचारिकताको लागि मात्र गरिन्छ, जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् । चाडबाडमा स्थिति अझ गम्भीर बन्छ, त्यसैले अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ ।” 

प्रशासन र स्थानीय तहको तयारी
यता स्थानीय तहदेखि जिल्ला प्रशासनसमेत एक–दुई दिनभित्रै बजार अनुगमनको तयारी थालेको बताइएको छ । 

चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले अबको एक–दुई दिन भित्रै बजार अनुगमन गर्ने तयारी थालिएको बताउनुभयो ।”  

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले पनि “अबको एक–दुई दिनभित्र बजार अनुगमन थाल्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो नियमित बजार अनुगमन गर्न खोज्दा व्यवसायीहरू सटर झारेर फरार हुने गरेकोले अनुगमन प्रभावकारी हुन सकेको थिएन । अब व्यवसायीसँग समन्वय तथा छलफल गरेर नियमित अनुगमन गर्नेछौँ ।”

उपभोक्ताहरूले पनि स्थानीय तह र सम्बन्धित निकायले बजार मूल्य नियन्त्रण तथा नियमित अनुगमनको व्यवस्था मिलाउन आवश्यक भएकोमा जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button