तपाईँ सुन्दै हुनुहुन्छः

रारा ताल र मानसरोवर घुम्न आउने पर्यटक बढ्दै 

जुम्ला ।  नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुस्थित रारा ताल र हुम्लाको मानसरोवर घुम्न आउने पर्यटक बढ्दै गएका छन् । 

दशैँ तिहारको अवसरमा रारा ताल र मानसरोवर अवलोकन गर्ने पर्यटक बढ्दै गएका हुन् । असहज सडक, होटलबासको असुविधा लगायतका समस्याका बीच पनि कर्णालीमा पर्यटक बढ्दै गएका हुन् । 

रारा आउने पर्यटक स्थलमार्ग हुँदै आउने गरेका छन् । भने, हुम्लाको मानसरोवरमा हवाई यात्रामार्फत पुग्ने गरेका छन् । मानसरोवर भ्रमण अवलोकनका लागि भारतीय तीर्थयात्री बढी आउने गरेका छन् । भने रारा तालमा दशैँ र तिहार लक्षित आन्तरिक पर्यटक बढेको रारा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ  । 

चालु आर्थिक वर्ष २०८२÷८३ को साउन भदौमा गरी ३ सय ४७ जना पर्यटक रारा ताल पुगेका छन् । जसमा पुरुष २ सय २७ जना र महिला १ सय २० जना गरी दुई महिनामा  ३४७ पर्यटक रारा ताल पुगेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख महेश न्यौपानेले बताउनुभयो । असहज कर्णाली राजमार्ग,होटल बासको प्रभावकारी व्यवस्थापन नहुँदा पनि राराको सौन्दर्य हेर्न रारामा पर्यटकको घुइँचो लाग्ने गरेको प्रमुख न्यौपानेले बताउनुभयो ।

“रारा ताल समृद्ध कर्णालीको आधार हो । यहाँ पर्याप्त पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन आवश्यक छ । रारा आउने हरेक पर्यटकलाई कर्णालीमा घुम्ने समय लम्बाउन, खर्च बढाउन तर्फ अतिथि सत्कारदेखि सञ्चार, पूर्वाधार, खानेपानी र प्रचारमा जोड दिनुपर्छ ।”, उहाँले भन्नुभयो । 

रारा निकुञ्जको प्रमुखका रुपमा महेश न्यौपाने आउनुभएसँगै  निकुञ्ज संरक्षणसँगै चोरी पैठारी समेत रोकिएको छ भने निकुञ्ज स्थापनाकै हालसम्म बढी पर्यटक तथा आम्दानी गत आवको तुलनामा बढी भएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

रारा तालमा गत आवमा हाल सम्मकै बढी १९ हजार १०२ जना पर्यटकले भ्रमण गरेका छन्  । जसमा पुरुष १२ हजार ६३३ र महिला ६ हजार १७१ जना रहेका थिए । 

रारामा पर्यटकको बसाई लम्बाउन आवश्यक पूर्वाधार निर्माण सँगै सडक यात्रा सहज बनाउनु पर्ने रारा घुम्न आएकी पर्यटक बिना रानाले बताउनुभयो । पूर्वबाट कर्णाली घुम्न “राराको सुन्दरता हेरौँ हेरौँ लाग्ने छ । तर सडक निकै कठिन छ । रारामा राम्रो होटल बास छैन । पर्याप्त बजेट छुटाएर पर्यटकको बसाई लम्बाउन तिर ध्यान जरुरी छ ।”, आउनुभएकी रानाले भन्नुभयो ।  

एक पटक आएको पर्यटकलाई फेरी फेरी आउने गरी वातावरण बनाउनु पर्नेमा रारा पुग्ने सबै पर्यटकको माग छ । 

मानसरोवर जाने तीर्थयात्री बढी
हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको उल्लेखीय रुपमा आउने गरेका छन् ।   

यस वर्षको मानसरोवर यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको हो । 

काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको छ । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्यामा हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । 

सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताउनुभयो । एउटा होटलले १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एक दुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ । 

त्यसैगरी, चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला पुगेका छन् । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने छ करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

“अन्य देशका चार सय ५० जनासहित हुम्लामा छ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका छन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।”, उहाँले भन्नुभयो । 

भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट एक हजार १ सय राजस्व सङ्कलन गर्दै आएको छ । अन्य देशका पर्यटकबाट एक हजार शुल्क लिने गरिएको छ । मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका पाँच हजार ९५७ जनाबाट ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button