भूमि आयोग तत्काल पुनर्स्थापना गर्न किसान महासङ्घको माग
महासङ्घले भोली काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले खारेज गरिएको भूमि समस्या समाधान आयोग तत्काल पुनर्स्थापना गर्न माग गरेको छ ।
अखिल नेपाल किसान महासङ्घ, भूमि अधिकार तथा श्रमिक सङ्गठनले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी तत्कालीन सरकारले अव्यवस्थित बसोबास, भूमिहीन दलित, सुकुम्वासी र श्रमजीवी जनताको विरुद्धमा गैरजिम्मेवारीपुर्ण निर्णय गरेको भन्दै आयोग पुनर्स्थापनाको माग गरेको हो ।
पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दंगालले सुकुम्वासी समुदायका समस्या समाधान गर्नु राज्यको दायित्व र संविधान प्रदत्त अधिकार विपरीत गरिएको आयोग खारेजको निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्नुभयो ।
यस्तै महासङ्घका अध्यक्ष दंगालले आयोग खारेजको विरोधमा भोलीदेखि देशभर जनप्रदर्शन तथा विभिन्न दबाबका कार्यक्रम गर्ने पनि बताउनुभयो ।

आयोग पुनर्स्थापनाको मागसहित महासङ्घले भोली ३ः०० बजे काठमाडौँको तीनकुनेमा प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते ७७ वटै जिल्लामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
मुलुकका भूमिहीन दलित, अव्यवस्थित बसोवासी र भूमिहीन सुकुम्वासीसहित २३ लाखभन्दा बढीको लगत सङ्कलन भूमि समस्या समाधान गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतिक्रिया राख्नुहोस्