तपाईँ सुन्दै हुनुहुन्छः

दीपावली–छठ नजिकिँदै: माटो र बाँसका सामग्रीको बिक्री बढ्यो

जनकपुरधाम । हिन्दुहरूको महान् पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै जनकपुरधाम सहित तराई मधेशका बजारमा माटाको भाडा वर्तन सहित बाँसले बनेका सामानहरूको अत्यधिक बिक्री हुन थालेको छ ।

माटाका भाडा वर्तन बनाउने कुमाल (कुम्हाल) तथा बाँसको सामानहरू बनाउने डोम सहितका अन्य जातिलाई ती सामानहरूको उत्पादन गर्नका लागि भ्याई नभ्याइको  अवस्था रहेको छ । खास गरेर दीपावलीमा प्रयोग हुने माटाका दियो तथा कलश निर्माणका लागि दिनरात उत्पादनमा कुमाल जाति लागेका छन् ।

दीपावली देखि छठ पर्वसम्म नै माटाका भाडा वर्तनको अत्यधिक माग हुने गरेको छ । खास गरेर दीपावलीमा झिलिमिली बत्तीका कारणले दियो तथा टुक्कीको मागमा कमी आएपनि शुद्धता तथा पवित्रताको महापर्व छठमा अनिवार्य रुपमा नै माटाका घडा वर्तनको अत्यधिक प्रयोग हुने गरेकाले त्यसको उत्पादनका लागि दिनरात लागेको जनकपुरधाम वडा नंं १६ कपिलेश्वरका विश्देश्वर कुम्हारले जनाएका छन् । यसै समयमा नै कम्तीमा आधा वर्षको घर व्यवहार चलाउनका लागि यस अवधिमा कमाई हुने गरेको उहाँले बताउनु भयो ।

दीपावली देखि छठसम्म अत्यधिक माग हुने माटोको दियो, कलश, घैँटा, कुरुवा, कुरुवार, ढक्कन, पातिल, हात्तीको उत्पादनमा सो जाति लागी परेका छन् । तर उहाँहरूले पछिल्लो केही वर्ष यता पित्तल तथा तामाको वर्तनको प्रयोग बढ्दै गएका कारणले आफूहरूको पेशा तथा व्यवसाय नै सङ्कटमा पर्ने त होइन भन्नेमा सशङ्कित रहेका छन् ।

यसै गरि छठमा प्रयोग हुने अर्को महत्वपूर्ण सामाग्रीको रुपमा रहेको बासका समानहरूको बिक्री वितरण अत्यधिक मात्रामा हुने गरेको छ । छठमा बाँसले बनेको छैटी, टपरी, डगरी, नाङ्लो, सुपा, मौनीको अत्यधिक माग हुने गरेको छ । यसको माग अत्यधिक मात्रामा बढेकाले डुम जातिलाई उत्पादन गर्नमा भ्याई-नभ्याईको अवस्था रहेको छ ।

छठमा यसको बिक्रीबाट निक्कै राम्रो आम्दानी गर्ने गरेको उनीहरूले बताएका छन् । गाउँ घरमा पाईने बाँस खेर गइरहेको वेलामा यसको प्रयोग गरेर ती सामानहरूको उत्पादन हुने गरेको छ । बाँसको सामान बिक्री गरेर वर्ष ४–५ महिनाको घर व्यवहार चलाउनमा सहयोग पुग्ने गरेको यस समुदायका अगुवाहरूले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button