गण्डकी प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा ७ खेलाडी सम्मानित
पोखरा । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई पोखरामा आयोजित सङ्घको साधारण सभाको अवसरमा खेलाडीहरूलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

सम्मानित हुने महिला खेलाडीहरूमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनुभएको छ भने पुरुषतर्फ सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेललाई नगदसहित सम्मान गरिएको हो । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले खेलाडी तथा खेलाडीहरूको अनुपस्थितिमा उहाँका आफन्तलाई जनही नगद १० हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।

मेयर आचार्यले नेपालमा सन् २०२७ मा आयोजना हुने यु १९ महिला विश्वकप क्रिकेटका लागि आफूहरू आवश्यक पूर्वाधार निर्माणको लागि सहजीकरण गर्न तयार रहेको बताउनुभयो । पूर्वाधारको सवालमा केही समस्या आएको उल्लेख गर्दै उहाँले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानका लागि महानगरले बजेट छुट्टाउन तयार हुँदाहुँदै पनि मैदान महानगरको अधिकारभन्दा बाहिर रहेकाले समस्या रहेको बताउनुभयो ।
नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पूर्वाधार नहुँदा चाहेर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसकिने दाबी गर्नुभयो । पूर्वाधारसहित सुरक्षा चुनौतीमा ध्यान दिन आग्रह गर्दै उहाँले जिल्ला र प्रदेश क्रिकेट संघ बलियो भएमात्रै केन्द्रीय संघ बलियो हुने तर्क गर्नुभयो ।
संघका केन्द्रीय सदस्य सुदिप शर्माले सन २०२७ मा महिला यु १९ विश्वकप आयोजना गर्ने संघारमा रहँदा पोखराको विकल्प नभएको बताउँदै यसमा अभियानकै रुपमा अघि बढाउन सुझाव दिनुभयो ।
प्रदेश खेलकुद परिषद् गण्डकीका बोर्ड सदस्य विनय थापाले प्रदेश सरकारले विनियोजन गर्ने बजेट पनि व्यवहारिक नभएको दाबी गर्नुभयो । रिजल्ट दिने खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउँदै उहाँले सबै खेल सङ्घलाई एकै ढंगले हेर्न नहुने उल्लेख गर्नुभयो ।
साधारण सभामा कास्की,तनहुँ, पर्वत, बागलुङ, स्याङजा र नवलपुरका जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा बसेको साधारण सभामा केही महिना अघि आयोजित महिला क्रिकेट प्रतियोगितातर्फ सहभागी भएका कास्की, पर्वत, स्याङजा र नवलपुरका खेलाडीहरूलाई १६ थान क्रिकेट जुक्ता (रबर स्पाईक) हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ लगायतले क्रिकेटको बारेमा चर्चा गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्