तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री घिसिङद्वारा इलामका विपद् प्रभावितहरूलाई राहत वितरण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् सङ्कटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गर्नुभएको छ ।

मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको टोलीले प्रभावित क्षेत्रहरूको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो । 

गत असोज १७, १८ र १९ गते परेको भीषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूको निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भइरहेको बताउनुभयो । साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरू मिलेर अगाडी बढाइने समेत बताउनुभयो । 

पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माई टापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थायी आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री कुलमान घिसिङले सरकार पीडितहरूको साथमा रहेको र पुनर्स्थापनाको रुपमा स्थायी संरचना निर्माण कार्य तुरुन्त अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button