तपाईँ सुन्दै हुनुहुन्छः

हैजा विरुद्धको खोप अभियान सुरु हुँदै

वीरगञ्ज । सरकारले वीरगन्जमा डेढ महिनाअघि देखिएको हैजा र झाडापखालाको महामारी रोकथामका लागि पर्सा र बारा  जिल्लामा भोली आइतबार देखी हैजा विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।

वीरगन्ज महानगरसहित पर्साका केही पालिकामा गत भदौ ६ गतेदेखि हैजा र झाडापखालाको महामारी फैलिएकोमा हालपनि अस्पतालमा झाडापखालाका बिरामी उपचाररत छन् ।

वीरगन्जसहित पर्सामा डेढ महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेको कारणले सरकारले पर्सा र छिमेकी जिल्ला बारामा एकैसाथ हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । दुवै जिल्लाका लागि गरी सरकारले विदेशबाट १० लाख १८ हजार १ सय डोज (खोप) नेपालमा आयात गरिसकेको छ ।

पर्सा जिल्लामा  भोली देखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।

खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरूको अभिमुखीकरणका लागि वीरगन्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा ठाकुरले असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने अभियानमा जिल्लाका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिइने जानकारी दिनुभयो ।

१ वर्ष माथि उमेर भएका सबै व्यक्तिलाई हैजाविरुद्धको खोप दिइने उहाँले बताउनुभयो । हैजा विरुद्धको खोप अभियानका लागि जिल्लाका १४ वटै पालिकामा गरी १ हजार ९५० वटा खोप केन्द्र स्थापना गरिने छ । जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल,सबै सामुदायिक तथा निजी विद्यालय, कलेज,सबै सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाका कार्यालय,नियमित खोप सेवा सञ्चालन हुदैं आएका बाह्य खोप केन्द्रहरू,मन्दिर,मस्जिद, चर्च, गुम्बा,बसपार्क, नेपाल भारत सीमा नाका,उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरिने ठाकुरले बताउनुभयो । 

हैजारिुद्धको खोप अभियानका लागि पर्सा जिल्लामा महिला स्वास्थ्य स्वयंसेविका १ हजार ५४४ जना र स्वास्थ्यकर्मी ३ सय ५० जना गरी कूल १ हजार ८९४ जना जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो ।

हैजा प्रभावित स्थान र आसपासका मानिसलाई हैजा रोग लाग्नबाट जोगाउनका लागि तथा हैजा फैलिएको स्थानबाट अन्य स्थानमा हैजा फैलनबाट रोक्नका लागि यो खोप अभियान सञ्चालन गर्न लागिएको ठाकुरले बताउनुभयो । 

छिमेकी बारा जिल्लामा भने १६ पालिकामध्ये कलैया र जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर, प्रसौनी,फेटा र विश्रामपुर गाउँपालिका गरी ६ वटा पालिकामा पनि हैजा विरुद्धको खोप अभियान असोज २६ गतेदेखि नै सञ्चालन हुन लागेको जानकारी पनि ठाकुरले दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button