पतिको दीर्घायुको कामनामा अवधी महिलाद्वारा करवाचौथ पर्व उल्लासपूर्वक मनाइँदै
बाँके । पश्चिम तराईका जिल्लाहरूमा आज अवधी समुदायका विवाहित महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै श्रद्धा र उल्लासका साथ करवाचौथ पर्व मनाइरहेका छन्।
नेपालगञ्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रका अनुसार बिहानैदेखि निराहार व्रत बसेका महिलाहरूले राति चन्द्रमा उदाएपछि पूजा गरी पतिको आराधना गर्छन्। पतिको हातबाट जल ग्रहण गरी व्रत समापन गर्ने परम्पराले यो पर्वलाई अझ भावनात्मक बनाएको उनले बताइन्।
पण्डित शिवप्रसाद पाठकका अनुसार, महिलाहरूले बिहानैदेखि निर्जल व्रत बसेर राति चन्द्र दर्शनपछि पतिको आरती गरी, पतिलाई प्रसाद र पकवान खुवाएपछि मात्र आफैं प्रसाद ग्रहण गर्छन्।
यस दिन महिलाहरू नयाँ रङ्गीचङ्गी वस्त्र, चुरा, पोते र गहनाले सजिएर दुलहीझैं देखिन्छन्। चन्द्रमा उदाएपछि चल्नीको जालीबाट चन्द्र दर्शन गर्ने र त्यसै चल्नीमार्फत पतिलाई दर्शन गर्ने विशेष परम्परा रहिआएको छ।
घरको आँगनमा वा भित्तामा गौरी–गणेशको चित्र कोरी महिलाहरू समूहमा भेला भई पूजा, कथा वाचन र शुभकामना आदान–प्रदान गर्छन्। यस अवसरमा नयाँ चामलको पिठोबाट बनाइने फारा विशेष पकवानका रूपमा अर्पण गरिन्छ।
करवाचौथ पर्व पश्चिम तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया लगायतका जिल्लासँगै भारतको बहराइच, श्रावस्ती र लखनउ क्षेत्रमा पनि समान श्रद्धा र उत्साहका साथ मनाइन्छ।
प्रतिक्रिया राख्नुहोस्