बिपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुल्यो, शनिवारदेखि सवारी आवतजावत
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्र्याक’ खुलेको छ ।
भोलि शनिवार बिहानैदेखि सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
शुक्रवार बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकी डाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्र्याक’ खोली सकिएको र बाँकी दिउँसो मङ्गलटारको माम्तीमा ट्र्याक खोलेपछि अवरुद्ध राजमार्गमा सवारी खुलाइन सहज भएको हो ।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रवार अपराह्नमा ट्र्याक खुलाएको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँशी, गिम्दीबेँशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबँेशी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार ट्र्याक खुलाइए पूर्ण रूपमा यातायात सञ्चालन भने शनिवार बिहानदेखि गरिनेछ ।
राजमार्गको काभ्रेपलाञ्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्र्याक खोलिसकेका छौँ, खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्दैछौँँ, शनिवार बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, योगेशले भन्नुभयो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलवारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो ।
योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ट्र्याक खोलीसेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आजसम्म नभए राति भए पनि अस्थायी रूपमा बनाइएको सबै सडक क्लियर गरी सक्नेछौँ ।”
बाढी पहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो । सोही क्षेत्रमा गत सालको बाढी पहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्ने गरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । घिसिङले रातको समयमा काम गरेर भए पनि शुक्रवार बेलुकासम्ममा यातायात सञ्चालन हुने गरी कामलाई तीव्रता दिन भन्नुभएको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्