तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक प्रविधि र परम्पराको मिश्रणमा पानी घट्ट व्यवसाय

'भण्डारीको आम्दानी र मेहनतको कथा'

बैतडी। पाटन नगरपालिका वडा न-६का ३८ वर्षीय गणेश सिंह भण्डारी बिहान सबेरै उठेर घट्ट चलाउन हिँड्छन् । दिनैभर स्थानीयहरूले पिसानीका लागि ल्याएका अन्न पिस्नमा व्यस्त हुन्छन् । उहाँको यो दैनिकी एक दशकदेखिको हो । घर नजिकै भएर बग्ने सुर्नया नदी किनारमा उहाँले विगत १० वर्षदेखि व्यावसायिक रूपमा पानी घट्ट चलाइरहेका छन् ।

दैनिक करिब ८ क्विन्टलसम्म अन्न पिसानी गर्ने गरेका भण्डारी साँझसम्म नै घट्ट चलाउन व्यस्त हुन्छन् । उहाँले सञ्चालन गरेको घट्टमा अन्न पिसानी गर्नेहरूको भिड लाग्ने गर्छ । 

बैतडी लगायत सुदूर पहाडका खोलाहरूमा एक समयमा पानी घट्ट थुप्रै हुने गरेका थिए । सामूहिक र एकल गरी ठाउँ ठाउँमा घट्ट निर्माण गरी सञ्चालन गरिन्थ्यो । यातायात तथा विद्युतीय सेवा नपुगेको ठाउँमा घट्टबाटै पिसानी गर्ने गरिन्थ्यो । यहाँका खोलाहरूमा पाँच सय मिटरको दुरीमा घट्टहरू भेटिने गर्थे । सबै प्रकारका अन्नहरुपनि सोही घट्टबाटै पिसानी गर्ने गरेका थिए । आफ्नै खेतमा उत्पादित अन्न, गहुँ, मकै, जौँ, कोदो पिसानी गर्ने गरिएको थियो । 

‘यही सुर्नयामा पनि थुप्रै घट्टहरू थिए, अचेल देखिँदैनन्, मैले सुरुवातदेखि नै आधुनिक औजार प्रयोग गरी घट्ट चलाइरहेको छु,’ घट्ट व्यवसायी भण्डारी भन्नुहुन्छ । 

पछिल्ला दिनहरूमा पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । बजार क्षेत्रमा आटा मीलहरू सञ्चालन भइरहेका छन् । स्थानीय खोलाहरूमा छ्याप-छ्याप्तीरुपमा देखिने घट्टहरू पछिल्ला वर्षहरूमा देखिनै मुस्किल हुने गरेको छ । भण्डारीले भने विगत १० वर्षदेखि व्यावसायिकीकरुपमा घट्ट चलाएर मनग्य आम्दानी गरिरहेका छन् । 

२०७१ सालदेखि व्यावसायिकीकरण घट्ट व्यवसाय सुरु गरेका भण्डारीले घट्ट व्यवसायबाटै मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । भण्डारीले दिनैभर घट्ट चलाएर घरपरिवार लालन पालनसँगै  छोराछोरीरहरुलाई शिक्षादीक्षा दिइरहेका छन् । ‘दिउँसोको समयमा घट्ट चलाउने गरेको छु, कमाइ राम्रै चलेको छ, परिवार पालेकै छु, छोराछोरी पढाउन पुगेकै छ,’ भण्डारीले भन्नुभयो । भण्डारीको घरमा श्रीमती र दुई छोराछोरी छन् । 

आफ्नै  लगानीमा घट्ट निर्माण गरेका भण्डारीले वार्षिक ३ लाखसम्म बचत गर्ने गरेका छन् । भण्डारीले सुरुमा करिब २ लाख लगानी गरेर घट्ट व्यवसाय थालेका हुन् । पानीबाटै सञ्चालन भइरहेको घट्टमा केही आधुनिक उपकरणको प्रयोग गरिएको छ । पानीबाटै चल्ने मोटर र आधुनिक जात्रा जडान गरेको उक्त घट्टबाट दैनिक ८ क्विन्टलसम्म अन्न पिसानी हुने गरेको छ । 

भण्डारीले सञ्चालन गरेको भट्टमा गहुँ, जौँ, मकै, चामल र कादो लगायतका अन्न पिसानी गर्ने गरिन्छ । पिसानी गरेबापत भण्डारीले प्रतिकेजी ३ रुपैयाँदेखि ६ रुपैयाँसम्म लिने गरेका छन् । यस घट्टमा पाटन नगरपालिका वडा न-६ सहित वडा नं ३ र ४ का स्थानीयहरूले पिसानीका लागि गेडागुडी ल्याउने गरेका छन् । 

पछिल्लो समयमा बजार क्षेत्रमा छ्यापछ्याप्ती आटा-मीलहरू खुलेको भए पनि यस क्षेत्रका स्थानीयहरूले भने पानी घट्टमै आएर अन्न पिसानी गर्ने गरेका छन् ।

बजारमा सञ्चालन गरिएका विद्युतीय आटा-मिलहरूको भन्दा पानी घट्टबाट पिसानी गरिएको पिठो राम्रो हुने गरेको सेवाग्राहीको बुझाइ छ । बजारमा चल्ने पिसानी मेसिनमा तातोपना बढी हुने भएकाले रोटी स्वादिलो नहुने स्थानीय मैनादेवी चन्दले बताउनुभयो । ‘विद्युत्बाट चल्ने ठुलो मिलमा पिसिएको पिठो निकै तातो हुन्छ, त्यसमा पिसिएको पिठोबाट बनेको रोटीमा स्वाद मर्छ, पानी घट्टमा पिसानी गरिएको पिठोबाट बनेका रोटी स्वादिला हुन्छन्, हामी त घट्टकै पिठो राम्रो मान्छौँ, बानी परी सक्याैँ ।’ चन्दले भन्नुभयो । 

आफ्नै घर नजिकै स्थानीय श्रोत साधनको उपयोग गरी घट्ट व्यवसाय सञ्चालन गरेका भण्डारी आफ्नो कामप्रति सन्तुष्ट छन् । ‘घरकै खाना खाएर दिनभरि घट्टमै काममा व्यस्त हुन्छु, घरका सदस्यहरूले पनि यस काममा सहयोग गरेका छन् ।’ भण्डारी भन्नुहुन्छ । 

घट्ट व्यवसायी भण्डारी राज्य स्तरबाट कुनै सहयोग नपाउँदा उनी खिन्न देखिन्छन् । ‘स्थानीय तह, घरेलुको कार्यालय र आन्तरिक राजश्व कार्यालयमा फर्म दर्ता गरेर घट्ट व्यवसाय गरिरहेको तर हालसम्म कुनै पनि निकायबाट सहयोग नपाएको भण्डारीले गुनासो गर्नुभयो । 

घट्ट व्यवसाय सञ्चलन गरिरहेका भण्डारीले घट्ट प्रविधिलाई जोगाइरहेको भन्दै प्रशंसा गर्ने गरेका छन् । ‘आजभोलि घट्ट सबै बाँझा (लोप हुने अवस्थामा)परीसके, धेरै कम भइसके, यो हाम्रो दैनिक जीवनसँग जोडिएको स्थानीय बलियो प्रविधि हो, तर गणेश सिंह भण्डारीले घट्ट प्रविधिलाई जोगाइराखेका छन्,’ स्थानीय एवं पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले भन्नुभयो । पानी घट्ट लोप हुने अवस्थामा पुग्दा उहाँले घट्ट व्यवसाय सञ्चालनले पुरातन चलनको पनि संरक्षण गरेको क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button