बिपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आउने
काठमाडौँ । अविरल वर्षाका कारण असोज १७ र १८ गते आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको यो राजमार्गमा डाइभर्सन निर्माणको अन्तिम चरण पूरा भएपछि यातायात पुनः सञ्चालन हुन लागेको हो।
सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार, काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ। उहाँका अनुसार, बाढीले गत वर्ष बनाइएको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण अवरुद्ध भएको थियो।
बाढीपहिरोले राजमार्गका चौकीडाँडा, बोक्सेकुना, माम्ती, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा उच्च जोखिम निम्त्याएको छ। यस राजमार्गमा चाडपर्वको समयमा दैनिक १५ हजारसम्म सवारीसाधन चल्ने गरेका छन्।
१६ स्थानमा डाइभर्सन बगाएको थियो
सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो। यस्तै, गत वर्षको बाढीमा ५.३ किलोमिटर डाइभर्सन पूर्ण रूपमा नष्ट भएको थियो।
मापदण्डभन्दा बढी भार बोकेका सवारी पनि कारण
प्रमुख योगेशका अनुसार, बाढीका साथै मापदण्डभन्दा बढी भार बोकेका टिप्परहरू पनि राजमार्ग क्षति हुनमा कारण बनेका छन्। जापानी सहयोग नियोग (जाइका) ले १६ टनभन्दा बढी भार बोकेका सवारी सञ्चालनमा रोक लगाएको भए पनि २५ टनसम्मका टिप्परहरू चलिरहेको पाइन्छ।
बिपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो। निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो।








प्रतिक्रिया राख्नुहोस्