तमोर कोरिडोर सडक सञ्चालनमा

पाँचथर । गत शनिवारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक आजदेखि सञ्चालनमा आएको छ । पाँचथर–धनकुटा सीमामा अवस्थित नावा खोलामा सडकको ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो ।
सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बाटोमा रोकेर राखिएका सवारी र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन् । विशेष पुल नभएका खोलामा सडकको अवरोध हटाउन समय लागेको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले कोरिडोर सडकमा मुख्य अवरोध रहेको नावा खोलामा बाढी पहिरो पन्छाउने काम सकिएसँगै आज दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । तमोर कोरिडोर सडक योजना कार्यालयसहितका निकायले सोमबारदेखि नै उक्त सडकमा झरेको पहिरो पन्छाउने तथा बाढीले भत्काएका स्थानमा सडक निर्माणको काम गरिरहेका थिए ।
गत शनिवार र आइतबारको वर्षाका कारण पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मेची राजमार्ग अवरुद्ध बनेको छ भने पाँचथर–ताप्लेजुङलाई सुनसरीको धरानसँग जोड्ने तमोर कोरिडोर सडक अवरुद्ध थियो । तमोर कोरिडोर सडक खुलेपछि इन्धनसहितका अत्यावश्यक सामग्री ढुवानी हुने प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
मेची राजमार्गको इलामको राजदुवाली क्षेत्रमा मात्रै अवरोध बाँकी छ । राजमार्ग अवरुद्ध भएपछि इलाम–फिदिम खण्ड बुधवारदेखि एकतर्फी सञ्चालनमा आएको छ भने माई खोला–जोरकलश खण्ड सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्