तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नतिको पहिलो चरण अन्तिम चरणमा

काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्री घिसिङले आज स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । साथै छ वटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले  प्रतिबद्धता जनाएको छ । “पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । फ्लडलाइट राख्ने काम सकिएको छ,” मन्त्री घिसिङले भन्नुभयो “नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघि पहिलो चरणको काम पूरा गरी झन्डै १२ हजार दर्शक अटाउन सक्ने गरी तयार हुनेछ ।”

उहाँका अनुसार दोस्रो चरणको काम सम्पन्न भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ  । “यो देशको महत्त्वपूर्ण क्रिकेट मैदान हो, अब दोस्रो र तेस्रो चरणको कामलाई पनि अगाडि बढाउने गरी डिजाइन सकिएको छ,” मन्त्री घिसिङले भन्नुभयो । 

उहाँले परियोजनाको बजेट सुनिश्चितताका विषयमा समेत सरकार गम्भीर रहेको जनाउँदै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय महत्वका खेललाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “मैदानको स्तरोन्नतिलाई सबैले महत्वका साथ हेर्नुभएको छ । समयमै काम सम्पन्न गरी छिटो हस्तान्तरण गर्न म निर्माण कम्पनीलाई पनि आग्रह गर्दछु ।”

मन्त्री घिसिङले ठेकेदार र सम्बन्धित निकायलाई कार्य तीव्र बनाउन आह्वान गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन दुई चरणमा काम भइरहेको जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button