हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो
भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताउनुभयो । “फुसको छानो हुँदा धेरै समस्या थियो”, उहाँले भन्नुभयो, “म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।”
गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ । “आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,” निरौलाले भन्नुभयो, “छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।”
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताउनुभयो । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।रासस
प्रतिक्रिया राख्नुहोस्