तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढी पहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोसी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा न-४ वरुणखोलास्थित कोसी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा न-३ एकुवास्थित कोसी राजमार्ग अवरुद्ध भएका छन् ।

यस्तै बाढी पहिरोले इलामको इलाम नगरपालिका वडा न-९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा न-२ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यसै गरी रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा न-२ स्थित पासाङ ल्हामु सडक खण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा न-११ माम्तीखोलास्थित बिपी राजमार्ग र सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं १ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा न-८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो ।

वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न-१ स्थित कोसी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा न- ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका वडा न- ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button