तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा दुई दिनदेखि लगातार वर्षा, बाली भित्र्याउन किसानलाई सकस  

डडेल्धुरा । डडेल्धुराका किसानलाई धानबाली भित्र्याउन निकै सकस भएको छ । खेतमा धानबाली पाकेर पहेँलो भए पनि दुई दिनदेखि लगातार परिरहेको वर्षाले किसानलाई बाली भित्र्याउन सकस भएको हो ।

धानबाली भित्र्याउनै लाग्दा लगातार भइरहेको वर्षाले किसानलाई थप चिन्तित मात्रै होइन खेतबारीमा कुहिने खतरा बढेको छ । 

परशुराम नगरपालिका ७ का स्थानीय जगन्नाथ बिष्टले भन्नुभयो, “असार महिनामा लगाएको धान खेती बारीमा पाकेको छ । तर लगातार वर्षातका कारण त्यो भित्र्याउन पाएको छैन ।”

जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारका अनुसार बुधबार दिउँसोसम्म सदरमुकामको खलङ्गामा ४५ मिलिमिटर वर्षा भएको छ । निरन्तर जस्तै वर्षा भइरहेकाले शुक्रबार दिउँसोसम्म १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने उहाँले बताउनुभयो । हाल पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको र शुक्रबार मध्याह्न १२ः०० बजेसम्म यसको प्रभाव रहन सक्ने उहाँले बताउनुभयो । 

डडेलधुरामा छ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको अनुमान छ । यो क्षेत्रफलमध्ये २० प्रतिशत अर्थात् एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाइन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button