तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गर्नुभयो । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका हुने सञ्चार जगबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  

“यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना  छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ । 

निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले भन्नुभयो, “यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।” उहाँले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button