वीरगञ्जमा हैजा नियन्त्रणका लागि सरकारले ल्यायो १० लाख १८ हजार खोप
वीरगञ्ज । गत भदौ ६ गतेदेखि वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले विदेशबाट १० लाख १८ हजार १ सय डोज हैजा विरुद्धको खोप ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. अभियान गौतमले अर्को हप्तादेखि पर्सा र बारा जिल्लाका हैजा प्रभावित स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने बताउनुभयो । मुखबाट सेवन गरिने (ओरल) यो खोपको एक डोजले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
खोप एक वर्षमाथिका सबै व्यक्तिलाई दिइनेछ, तर उच्च सङ्क्रमण भएका, अस्पतालमा उपचाररत, ज्वरो वा झाडापखाला भएका बिरामीले भने यो खोप लिन नहुने चिकित्सकहरूको सुझाव छ ।
खोप विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरू मार्फत निःशुल्क उपलब्ध गराइनेछ । सरकारले खरिद नगरी अन्तर्राष्ट्रिय समन्वय समूह (क्ष्ऋन्) बाट अनुदानमा प्राप्त गरेको यो खोपमा गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको महासङ्घजस्ता संस्था संलग्न छन् ।
वीरगञ्ज सहित पर्सामा फैलिएको हैजाको प्रकोप अझै पनि छिटफुट रुपमा जारी छ । स्वास्थ्य मन्त्रालयले दूषित पानी र खानाबाट रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन समस्या भइरहेको जनाएको छ ।
नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार, हालै पनि अस्पतालमा दैनिक ४–५ जना झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्