सर्लाहीमा बाढीबाट १६१९ घरधुरी विस्थापित
सर्लाही । अविरल वर्षा र बाढीका कारण सर्लाही जिल्लाका विभिन्न स्थानहरूमा ठुलो जनधनको क्षति भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार हालसम्म जिल्लाभर १६१९ घरधुरी विस्थापित भएका छन् । शनिवार र आइतबार परेको अविरल वर्षाले सर्लाहीमा करोडौँको क्षति भएको छ । वर्षाले अधिकांश किसानको धान, तथा नगदे बालीमा क्षति पुर्याएको छ । नगदे बाली अन्तर्गत दलहन र उखु बालीमा पनि ठुलो क्षति भएको छ ।
दुई दिनको अविरल बर्षाका कारण सर्लाहीका विभिन्न स्थानमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । चक्रघट्टा गाउँपालिका–१ पडरियामा मात्रै २० वटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विभिन्न पालिकामा सयौँ घरहरूमा पानी पसेको र सामान्य क्षति भएको तथा स्थानीय १९ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

यसैगरी कौडेना गाउँपालिका–३ मा हुलाकी सडकखण्डको करिब १५० मिटर भाग लखन्देही खोलाले कटान गरेको छ । यसका साथै जिल्लाका विभिन्न स्थानमा पशु चौपायाका साथै ठूलो आर्थिक क्षति भएको छ ।
त्यस्तै सर्लाही जिल्लाको कौडेना गाउँपालिका–७ शिवनगर र वडा नं. ५ छपकैया स्थित बाढीपीडित परिवारहरूलाई गाउँपालिकाद्वारा राहत वितरण गरिएको छ । गाउँपालिकाले निरन्तर वर्षा र बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराइने जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्