झापामा बाढीबाट २५ हजार २३१ जना विस्थापित, एक जनाको मृत्यु
झापा । भारी वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले झापामा ५४८१ परिवारका २५ हजार २३१ जना विस्थापित भएका छन् ।
सबैभन्दा बढी झापा गाउँपालिकाका ५१८९ परिवारका २३ हजार ९८८ जना विस्थापित बनेका छन् । झापा गाउँपालिकाको वडा नं १ ,२ , ३ ,६ र ७ प्रभावित बनेको छ । झापा गाउँपालिकाको जनसङ्ख्या ३९३०२ रहेको छ । बाढीबाट ६० प्रतिशतभन्दा बढी प्रभावित बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार झापा गाउँपालिकापछि गौरीगञ्जमा बढी क्षति भएको छ । गौरीगञ्जका १८५ परिवारका ८४६ जना विस्थापित बनेका छन् । दुवै पालिकाका बासिन्दा माई खोलाको बाढीले प्रभावित बनेका हुन् । त्यस्तै माई खोलाकै बाढीबाट शिवसताक्षी नगरपालिकाका ४७ परिवारका १८२ जना विस्थापित बनेका छन् । त्यस्तै मेची नदीमा आएको बाढीका कारण भद्रपुर ५ का २७ परिवारका ९० जना विस्थापित भएका छन् ।
त्यस्तै यो समाचार तयार पार्दासम्म गौरादहका ३१ परिवारका १४४ जना र अर्जुनधाराका एक परिवारका पाँचजना विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
बाढीमा फसेकाहरूको उद्धारका लागि हेलिकोप्टरसमेत प्रयोग गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनु भयो ।
यसैबीच कनकाई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान ११ः५० बजे कनकाई–४ कोटीहोमस्थित कनकाई नदीको बीच भागको डिलमा अन्दाजी ६५ वर्षको पहाडी मूलको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।
प्रतिक्रिया राख्नुहोस्