तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध, वैकल्पिक मार्गहरू खुलाउने तयारी

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले  देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । सरकारले सूचना जारी गरी लामो दुरीका यातायात असोज २० गतेसम्म सञ्चलनमा रोक लगाएको छ ।

पानी रोकिएपछि विभिन्न ठाउँमा गएको  पहिरो पन्छाउन सके यातायात सुचारु गर्न सकिने नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता विनोद घिमिरे अवरुद्ध भएका विभिन्न सडकमा पहिरो पन्छाउने काम भइरहेको र मौसम सफा हुँदै गए राजमार्ग खुलाउन सकिने बताउनुहुन्छ । 

वर्षाका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो गएको छ । पृथ्वी राजमार्ग, कान्ति लोकपथ अरनिको र विपी राजमार्गलगायतमा सडक भासिनुुका साथै पहिरोले क्षति पुर्याएको छ । बाढी पहिरोको जोखिम आँकलन गरी सरकारले दुई दिनसम्म हतारको यात्रा नगर्न सार्वजनिक बिदा समेत दिएको छ । राजमार्गहरूमा अलपत्र परेका यात्रुहरूलाई निःशुल्क खाने र सुरक्षित स्थानमा बस्ने व्यवस्थाका लागि नेपाल प्रहरीले काम गरिरहेकाले यात्राका लागि हतार नगर्न सुझाव दिनुहुन्छ नेपाल प्रहरीका प्रवक्ता घिमिरे । प्रहरी प्रवक्ता डिआइजी घिमिरेले मौसम सफा भएर गाडीहरू चलेपछि मात्रै यात्रामा यात्रुहरूलाई निस्कन आग्रह गर्नुभयो । 

पूर्वतिर जाने मुख्य सडक मार्ग,  विपी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको छ भने ठाउँ – ठाउँमा पहिरो गएको छ । त्यसैगरी कोदारी राजमार्गअन्तर्गत बाह्विसेमा पहिरो खसेको छ । 

चितवनको नाम्चेखोला र तुइनखोलास्थित नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट पहिरो खसेको छ । त्यस्तै काभ्रेको बिपी र अरनिको राजमार्गमा धुलिखेलदेखि दोलालघाट तथा काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म  दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ । रसुवा जिलाको रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति हुुनुुका साथै सवारीसाधन आवतजावत बन्द भएको छ । रसुवाकै घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडक- खण्डमा सडक माथिबाट ढुङ्गासहित सुक्खा पहिरोका आएर  बाटो अवरुद्ध भएको छ ।

सङ्खुवासभाका वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अवरोध छ । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल हुमाने काठमाडौँ सडकखण्ड पनि अवरुद्ध छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरोध भएको छ ।

यस्तै सिन्धुलीको सिन्दुरे दोभानस्थित मदन भण्डारी राजमार्गमा पहिरो गई बाटो बन्द भएको छ । धनकुटाको साँगुरीगढीस्थित कोशी लोकमार्गको चनौटे र सिमसुवा गरी तीन ठाउँकै बाटो बन्द छ ।

यतिखेर दशै मनाउन गाउँ गएकाहरू काठमाडौँ उपत्यका फर्कन हतार गरिरहेका छन् । सरकारले सडक चलाउन सकिने भन्ने सूचना जारी गरे त्यस्ता यात्रुुहरुलाई लक्षित गरी वैकल्पिक मार्गहरूबाट पनि यातायात चलाउन सकिने गरी सडक विभागले तयारी गरेको छ । सडक विभागका महानिर्देश डा. विजय जैशीले विपी राजमार्गका लागि तेमालको बाटो प्रयोग गर्न सकिने त्यस्तै अरनिको राजमार्गका केही वैकल्पिक बाटोहरू भएकाले सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरे गाडीहरू चलाउन सकिने बताउनुभयो । 

बाढी पहिरोका कारण कोशी, मधेश, बागमतीलगायतका प्रदेशका विभिन्न जिल्लाका प्रमुख सडकहरूमा  यातायात बन्द छ । यातायातको अप्ठेरोलाई मध्यनजर गरी सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । विपद्का बखत जहाँ छौ त्यही सुरक्षित बसौँ, सहज भए पछि आ आफ्नो गन्तव्यमा पुग्नु छँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button