तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा बाढी-पहिरो : २ जनाको मृत्यु, १५ भन्दा बढी बेपत्ता

विराटनगर । शनिवार साँझबाट परेको अविरल वर्षापछि इलाममा आएको बाढी र पहिरोले जनजीवन ठप्प पारेको छ। घटनामा हालसम्म २ जनाको मृत्यु पुष्टि भएको छ भने १५ भन्दा बढी व्यक्ति बेपत्ता छन्।

इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर माथिबाट खसेको पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना अझै बेपत्ता छन्। घाइते २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी घटनास्थलमा पुगेको र उद्धार कार्य जारी रहेको जनाएको छ।

माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका ५ जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन्। रातिदेखि सम्पर्कविहीन रहेका उनीहरूको खोजी कार्य जारी छ।

मांसेबुंग गाउँपालिका–१ मा बाढीले पुल बगाएको छ। त्यहाँ पहिरोले पुर्दा ५ जना हराइरहेका छन्। शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता छन्।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मृतक र बेपत्ताको आधिकारिक सङ्ख्या अझै पुष्टि हुन बाँकी छ। जिल्ला प्रहरी प्रमुख उपरीक्षक एक नारायण कोइरालाले बताए अनुसार पानी रोकिएपछि उद्धार कार्य तीव्र गतिमा जारी रहेको छ र जिल्लाका विभिन्न स्थानमा क्षतिको विवरण सङ्कलन भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button