तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका तीन पालिकाका पाँच वडा निषेधित क्षेत्र घोषित

बाँके।विजयादशमीको अवसरमा दुर्गा मूर्तिको विसर्जनक्रममा भएको विवादपछि बाँकेको तीन पालिकाका पाँच वडालाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार राति जारी गरेको आदेशअनुसार, दुर्गा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनावका कारण शान्ति–सुरक्षा कायम गर्न आवश्यक देखिएकाले सो निर्णय गरिएको जनाइएको छ।

प्रशासनका अनुसार शनिबार साँझ करिब ७ बजे डुडुवा गाउँपालिका–६ मा भएको विवादपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। धार्मिक तथा साम्प्रदायिक सद्भावमा आंच आउन सक्ने अवस्था देखिएकाले घटनास्थल र आसपासका क्षेत्रमा सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, भीडभाड र हुलहुज्जतमा कडाइ गरिएको छ।

निषेधाज्ञा नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १४ को सम्पूर्ण क्षेत्र, वडा नं. ५ को सुइया पिपलवा क्षेत्र, वडा नं. २३ का भज्जुपुर्वा, जंगलीपुर्वा र लोहासपुरवा क्षेत्र, साथै नरैनापुर गाउँपालिका–५ र डुडुवा गाउँपालिका–६ का क्षेत्रहरूमा लागू गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्तिको भेला, जुलुस वा हिँडडुल गर्न पाइने छैन। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानूनी कारबाही गरिनेछ।”

प्रमुख जिल्ला अधिकारी जोशीले सबै पक्षलाई संयम रहन, अफवाहमा नफस्न र शान्ति–सुरक्षा कायम राख्न आग्रह गर्नुभएको छ।

यसैबीच, दुर्गा मूर्तिको विसर्जनका क्रममा नेपालगन्जमा केही व्यक्तिबीच भएको विवादलाई प्रहरीले तत्काल नियन्त्रणमा लिँदै ठूलो अप्रिय घटना हुनबाट जोगाएको छ। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, घटनामा संलग्न उच्छृंखल गतिविधि गर्नेहरूमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गरिनेछ।

शनिबार जिल्ला प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले दोषी पहिचान गरी कारबाही गर्ने र सो प्रक्रियामा सबै पक्षको सहयोग रहने निर्णय गरेको छ। बैठकले आपसी रिस–राग, झगडा र अविश्वास त्यागी सामाजिक सद्भाव कायम गर्न पनि आह्वान गरेको छ। साथै, प्रहरी प्रशासनको स्वीकृति बिना कुनै पनि किसिमका नारा, जुलुस, सभा, सम्मेलन वा र्‍याली नगर्न सर्वसम्मत निर्णय भएको जानकारी जिसीले दिनुभयो।

उनका अनुसार, सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रवाह गर्नेहरूमाथि निगरानी बढाइने र आवश्यक परे साइबर अपराधअन्तर्गत कारबाही गरिनेछ। बैठकमा प्रहरी प्रशासनका प्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाजका अभियन्ता लगायत सरोकारवाला निकायहरूको सहभागिता थियो।

हाल नेपालगन्जको अवस्था पूर्ण रूपमा सामान्य रहेको प्रहरीले जनाएको छ। संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ।

शुक्रबार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडकखण्डमा पनि केही व्यक्तिबीच सामान्य विवाद भएपनि प्रहरीको सक्रियताका कारण ठूलो घटना हुन पाएन। विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीसहित करिब ३० जना घाइते भएका थिए। अधिकांश सामान्य उपचारपछि घर फर्किएका छन् भने चार जनाको भेरी अस्पताल र निजी नर्सिङ होममा उपचार भइरहेको छ।

प्रहरीका अनुसार यो घटना कुनै धर्म वा सम्प्रदायबीचको नभई केही व्यक्तिको उच्छृंखल व्यवहारका कारण उत्पन्न भएको हो। त्यसैले यसलाई धार्मिक कोणमा नजोड्न सबै पक्षलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button