सिन्धुपाल्चोकका सडकहरूमा राति सवारी सञ्चालनमा रोक
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सहित देशका धेरै भूभागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोकमा रातको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै प्रशासनले अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको बैठकले असोज १७ गतेदेखि २० गतेसम्म साँझ ७ बजेबाट बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित भएर चल्न पाउनेछन् ।
नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल समेत जारी गर्दै सुरक्षा परिचालनको तयारी समेत पूरा भएको प्रशासनले जनाएको छ ।
बैठकले स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य संस्था र स्वयंसेवकलाई विपद् व्यवस्थापनमा पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्