तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा आगजनीबाट विस्थापित झापाका प्रहरी कार्यालयकाे पुनर्स्थापना

भद्रपुर, झापा । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका प्रहरी कार्यालयहरूको पुनर्निर्माणसँगै झापामा प्रहरीलाई समुदाय तहबाट स्वागतसहित पुनर्स्थापना गरिएको छ ।

आन्दोलनका क्रममा हतियार समेत लुटिएपछि विस्थापित भएका प्रहरीलाई धमाधम कार्यालय फर्काउन थालिएको हो । 

बुधवार झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा जिल्लाका ठुला दुई वटा प्रहरी कार्यालय पुनर्स्थापित भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन पुनर्निर्माणपछि त्यहाँ कार्यरत प्रहरीहरूलाई पूर्ववत् अवस्थामा फर्काइएको हो ।

आन्दोलनका क्रममा ती दुई वटा कार्यालयमा आगो लगाएर सिलिन्डर विस्फोट गराइएको थियो । विस्फोटबाट क्षतिग्रस्त भएका दुवै कार्यालय पुनर्निर्माण गरी समुदाय समेतको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी प्रहरीलाई कार्यालय फर्काइएको छ ।

सद्भाव र्‍यालीपछि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँ र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले प्रहरी अधिकारीहरूसहितको टोलीलाई स्वागत गर्नुभयो । 

इलाका प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल नेतृत्वको अलग–अलग प्रहरी टोलीलाई नगर प्रमुख प्रसाईँ र गोम्देनले स्वागत गर्नुभयो ।

क्षतिग्रस्त ती दुई वटा प्रहरी कार्यालयको पुनर्निर्माणका लागि झन्डै डेढ करोड रुपैयाँ खर्च हुने अनुमानसहित समुदायले अग्रसरता देखाएको थियो ।

स्थानीय युवाहरूको अग्रसरतामा सञ्चालन गरिएको प्रहरी कार्यालय पुनर्निर्माण अभियानमा सामाजिक सङ्घसंस्था र व्यावसायिक क्षेत्रले नगद तथा जिन्सी सहयोग गरेका थिए ।

प्रहरी कार्यालय पुनर्निर्माण अभियानको नेतृत्व गरेका युवा व्यवसायी पदम श्रेष्ठका अनुसार अहिलेसम्म ७५ लाख रुपैयाँ खर्च भइसकेको छ । अभियान सञ्चालनको करिब दुई सातामा प्रहरीलाई पुरानै अवस्थामा फर्काइएको व्यवसायी श्रेष्ठले बताउनुभयो । पुनर्निर्माणको बाँकी कामलाई दसैँपछि निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button