बसको ब्रेक फेल भई मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
वीरगञ्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिकको सडकखण्डमा आज बिहान यात्रु बाहक बसको ब्रेक फेल भई मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका– २२ स्थित चुरियामाई मन्दिरनजिकै उकालोमा जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुवाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्कर दिएको थियो ।
दुई वटा मोटरसाइकलमा सवार दुई वटा परिवारका ६ जना घाइते भएका थिए । उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका बडा नम्बर–१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३–०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक वीरगन्ज–३१ का कञ्चनकुमार पटेलकी पत्नी २६ वर्षीया कविता देवी रहेका छन् । गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगन्ज महानगरपालिका वडा नम्बर–३१ का मृतक कविता देवीका पति मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ ।
बस दुर्घटनापछि फरार रहेका बसका चालक सर्लाहीको लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्