तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीलाई वनजंगलमा आधारित ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न माग 

वीरगञ्ज । मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यस्थल पर्साको ठोरी क्षेत्रलाई पर्यटन, कृषि, र वनजंगलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र (सेज)’ घोषणाका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसँग आग्रह गरिएको छ ।

दशैंको बिदामा मङ्गलवार ठोरीमा घुम्नका लागि आइपुग्नुभएका गभर्नर पौडेलसँग गरिएको छलफलका क्रममा स्थानीय युवा उद्यमी र व्यवसायीहरूले ठोरीलाई कृषि, पर्यटन र वनजंगलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र (सेज)’ घोषणाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ठोरी जङ्गल रिसोर्टमा भएको उक्त छलफलका क्रममा ठोरीका युवा उद्यमी र व्यवसायीहरूले ठोरीमा वाणिज्य बैङ्क र कृषि विकास बैङ्कको शाखा विस्तारका लागि पनि गभर्नर पौडेलसँग आग्रह गरेका थिए ।

त्यस्तै ठोरी गाउँपालिकाका वडाहरूमा मोबाइल बैङ्किङ वा शाखारहित बैङ्किङ सेवाको व्यवस्था गरिदिन, स्थानीय किसान, उद्यमी र व्यवसायीलाई कृषि ऋण, सहुलियतपूर्ण उद्यमशीलता ऋण, सहकारीमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइ दिन पनि आग्रह गरिएको स्थानीय युवा व्यवसायी सुदीप थापाले जानकारी दिनुभयो । साथै युवा उद्यमी र व्यवसायीहरूले ठोरीमा होटल/पर्यटन र कृषि–उद्योगमा लगानी गर्न सरल र कम ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइदिन पनि आग्रह गरेको थापाले बताउनुभयो ।

ठोरीमा डिजिटल वित्तीय पहुँच विस्तार अर्थात् मोबाइल बैङ्किङ, डिजिटल भुक्तानी प्रणाली विस्तार गर्न, स्थानीय बजार, पसल र सहकारीमा डिजिटल भुक्तानी प्रणाली लागू गर्न तालिम तथा प्रविधिको सहयोग गर्न, स्थानीय जनतालाई बचत, लगानी, बीमा र ऋणको सदुपयोग सम्बन्धि वित्तीय शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न पनि युवाहरूले गभर्नर पौडेलसँग आग्रह गरेका छन् ।

यसैगरि गभर्नर पौडेलसँग ठोरी गाउँपालिकाभित्रका सहकारी संस्थाहरूमार्फत किसान, महिला समूह र युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जाको पहुँच बढाउने व्यवस्था गर्न पनि आग्रह गरिएको थापाले जानकारी दिनुभयो । 

ठोरी जङ्गल रिसोर्टका सञ्चालकसमेत रहेका थापाकै पहलमा भएको उक्त छलफलमा गभर्नर पौडेलसँगै नेपाल राष्ट्र बैंकका प्रमुख दीर्घ रावल र वीरगन्ज शाखा प्रमुख सुशील पौडेलको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button