नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता
भक्तपुर । यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् ।

घटस्थापनादेखि यहाँ लाग्ने नौ राते अर्थात् नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । त्यसरी बाजा बजाउँदै जाने-आउनेको समूहले रात गुञ्जायमान हुने गरेको छ । नेवारी पोसाकमा सजिएका उनीहरूले टोलटोलबाट धिमे, बाँसुरी, झ्याली लगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् ।
घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउनुहुन्छ । मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउनुहुन्छ ।
धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आउनुभएकी प्रतिमा श्रेष्ठले भन्नुभयो, “बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पुर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुँदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।”
बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ । “पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ”, बाजा टोलीमा झ्याली बजाउँदै आउनु भएकी सुनिता खर्बुजाले भन्नुभयो । बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरूमा बाजा बजाउन थालेको उहाँले बताउनुभयो ।
भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लोपोन्मुख बाजाहरूको संरक्षण हुनेमा ढुक्क भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्