तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज नाकामा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता 

वीरगञ्ज  । देशको प्रमुख भन्सार नाकाको रूपमा स्थापित वीरगन्ज नाकामा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत वीरगन्ज–रक्सौलसहित आसपासका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । 

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले भारतीय सीमासँग जोडिएका नाका र अन्य संवेदनशील ठाउँहरूमा ’डग स्निफिङ’ (कुकुरमार्फत सुँघाएर जाँच गर्ने) सहितको टोली खटाइएको जानकारी दिनुभयो । 

दसैँको घटस्थापनादेखि छठ पर्वसम्मका लागि पर्साका सीमा नाकाहरूमा आवश्यकता अनुसार प्रहरीसँगै कुकुरसहितको टोली खटाइएको छ । पर्वको बेला हुने अत्यधिक मानवीय भिडभाडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधिहरूको रोकथाम गर्न यो कदम चालिएको प्रहरीले जनाएको छ ।

खासगरी सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा हातहतियारसहितका अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न तालिम प्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरी उपरीक्षक पाठकले बताउनुभयो । चाडपर्वको बेला सीमा क्षेत्रबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने जोखिमलाई निस्तेज पार्न जाँचलाई कडा बनाइएको उहाँले बताउनुभयो । 

सुरक्षा योजना अन्तर्गत खटिएको तालिम प्राप्त कुकुरको सहयोगमा हालै लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भारतबाट लुकाई छिपाइ ल्याउँदै गरेको २ ग्रामभन्दा बढी ब्राउनसुगरसहित सोमबार राति उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा झापा घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ८ बस्ने कैलाश कार्की र वीरगन्ज महानगरपालिका वडा नम्बर १० निवासी राहुल सर्राफ रहेका छन् । 

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरी उपरीक्षक पाठकका अनुसार, तालिम प्राप्त कुकुरहरूले प्राविधिक उपकरणले समेत पत्ता लगाउन नसक्ने वा गाह्रो हुने गरी लुकाइएका लागुऔषध, विस्फोटक पदार्थ, हतियार वा अन्य प्रतिबन्धित सामग्रीहरूलाई आफ्नो गन्धको माध्यमबाट सजिलै पहिचान गर्न सक्छन् ।

यसका अतिरिक्त, तालिम प्राप्त कुकुर देख्दा नै अवैध सामान बोक्नेहरू डराउने र सचेत हुने अवस्था सिर्जना भई अपराध रोकथाममा सहयोग पुग्दछ । सीमा नाका जस्तो संवेदनशील क्षेत्रमा ‘डग स्निफिङ’ टोली परिचालन गरिनुको मुख्य कारण यही रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button