तपाईँ सुन्दै हुनुहुन्छः

बडादसैँलाई सभ्य, सुसंस्कृत र सामाजिक सद्भाव कायम गरी मनाउन आग्रह

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले नेपालीहरूको महान् चाड बडादसैँलाई सभ्य, सुसंस्कृत र सामाजिक सद्भाव कायम गरी मनाउन आग्रह गरेको छ । 

प्रशासनले चाडपर्वलाई सांस्कृतिक परम्परा, आपसी ऐक्यबद्धता र एकताको धरोहरका रूपमा जगेर्ना गर्न सबैलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।

सूचनामा चाडपर्वलाई सहकार्य र सहयोगसहित एकताको पर्वका रूपमा मनाउन पनि आग्रह गरेको छ  । 

साथै जिल्लामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका सामान बिक्री वितरण नगर्ने लगायतका गतिविधि नगर्न सम्बन्धित निकाय र व्यापारीलाई सचेत गराइएको प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । 

प्रशासनले स्वास्थ्य लगायत आपत्कालीन सेवा सुचारु राख्ने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, तोकिएको भाडा दरभन्दा बढी नलिने, ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेको छ ।

त्यसैगरी, धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै गतिविधि नगर्न, चाडपर्वको नाममा चिठ्ठा वा जुवातास जस्ता गैर कानुनी कारोबार नगर्न प्रशासनले आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button