सङ्घीय संसद् सचिवालयका कर्मचारीद्वारा आगजनीबाट भएको फोहोर सफाइ

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीले जेन्जी आन्दोलनमा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोर सफाइ गरेका छन् ।
दसैँ बिदाको अघिल्लो दिन आइतबार सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीहरूले सङ्घीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिनुभयो ।
भदौ २४ गतेको जेन्जी आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारी साधनमा आगजनी गरिएको थियो । आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन् । आगजनीबाट जलेका सवारी साधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको छ ।
आगजनीबाट सिंहदरबारमा रहेका सचिवालयका दुवै भवन र कठघराहरू जोगिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्