तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो

भोजपुर। दसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् ।

बजारमा चहलपहल बढेसँगै पसल व्यवसायी पनि व्यस्त भएका छन् । व्यापारीले दसैँलक्षित छुट योजना, नयाँ सामानको भण्डारण र सजावट गरेर ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन् । दसैँका लागि आवश्यक पर्ने चामल, मासु, मसला, कपडा तथा मिठाइका पसलमा विशेष भीड देखिएको छ ।

यससँगै घर फर्कनेहरूको आवतजावत पनि बढेको छ । लामो समयदेखि रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मानिसहरू आफ्ना परिवारसँग दसैँ मनाउन घर फर्कन थालेका छन् । सार्वजनिक यातायातमा यात्रु चाप बढेको छभने टिकट अभाव हुने अवस्थासमेत देखिन थालेको छ ।

स्थानीयवासीले दसैँले आपसी भेटघाट, मेलमिलाप र खुसीको माहोल ल्याउने भएकाले बजारमा चहलपहल बढ्नु स्वाभाविक भएको बताएका छन् । भोजपुर सदरमुकामसँगै टक्सार, दिङला, हतुवागढीलगायतका स्थानीय बजारमा पनि हाल चहलपहल बढेको देखिन्छ । दसैँको नजिकिँदै गर्दा गाउँटोलमा पिङ बनाउने, घरसफाइ गर्ने र नयाँ कपडा खरिद गर्ने क्रमले पनि उत्सवको रौनक थपेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button