तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

काठमाडौँ।प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भागेका कैदीहरूमा कोही चोरडाकाहरू पनि छन् । कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ । सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ ।”

त्यसैगरी उहाँले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा रहेका र केही हाम्रो सम्पर्कमा रहेका छन् । जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा रहेको छ ।”

भागेका कैदीबन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिनसमेत उहाँले आग्रह गर्नुभयो । उहाँले भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने जानकारी दिनुभयो ।

उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ युवाहरूको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ । भागेका कतिपय कैदीबन्दीलाई भारत भाग्न लागिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेका छन्भने कतिपय नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदीहरू आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button