तपाईँ सुन्दै हुनुहुन्छः

लिङ्गे पिङले झल्काउँदै दशैंको मौलिकता 

बाँके । दसैँ नजिकिँदै गर्दा कोहलपुरका चोक–चोकमा लिङ्गे पिङ गढ्न थालेपछि वातावरणमा पर्वको विशेष रौनक फैलिएको छ। विगतका केही वर्षमा हराउँदै गएको यो परम्परागत संस्कृति यस वर्ष युवाहरूको सक्रियताले पुनः जीवित बनेको छ। शहरको व्यस्तताबिच खुला मैदानमा उभिएका अग्ला पिङहरूले स्थानीयलाई पुरानो दसैँको याद मात्र दिलाएका छैनन्, बालबालिका, युवा र वृद्ध सबैलाई रमाउन अवसर पनि दिएका छन्।

कोहलपुरको मदनचोकमा बनकटुवा चोक लगायत विभिन्न चोकहरूमा  स्थानीय युवाहरूको सक्रियतामा  राखिएका  लिङ्गे पिङ अहिले ठूलो आकर्षण बनेका छन्। बिहानैदेखि बेलुकीसम्म पिङ खेल्न आउनेहरूको घुइँचो लाग्ने गरेको छ। लाठे घुमाउँदै आकाश छुने जस्ता अनुभूति गर्ने बालबालिकाको हाँसोले गाउँदेखि बजारको माहोल नै बदलिएको छ।

स्थानीय युवा महेश शर्मा भन्नुहुन्छ, “विगतका केही वर्षमा पिङ नहुँदा दशैँ अधुरो जस्तो लाग्थ्यो। यसपालि शहरका चोकहरूमा लिङ्गे पिङ गढिएको देख्दा मन नै रमाइलो भयो। हामी सानोतिनो मेलाको मज्जा लिँदैछौं। दशैँ भनेको केवल खाने–पिउने मात्रै होइन, यसले हाम्रो संस्कृतिलाई पनि जोगाउने माध्यम हो भन्ने महसुस भएको छ।”

त्यस्तै अर्का स्थानीय युवा सन्तोष खत्री भन्नुहुन्छ, “आजभोलि बालबालिका मोबाइल र इन्टरनेटमै रमाउने गर्छन्। तर लिङ्गे पिङले उनीहरूलाई वास्तविक रमाइलोमा फर्काएको छ। पिङमा खेल्दा मात्र होइन, पिङ हाल्नको तयारीदेखि काठ काट्ने, बाँस खोज्ने, गाँठ बाँध्ने सबै प्रक्रियाले पनि हामी युवालाई एकताबद्ध बनाएको छ। यसरी परम्परा जोगाउने जिम्मेवारी हामीमै आएको जस्तो लाग्छ।”

दसैँको चाडसँग पिङ र चङ्गा अभिन्न रूपमा जोडिएका परम्परा हुन्। तर आधुनिक जीवनशैली, खेलकुदको नयाँ विकल्प र मनोरञ्जनका डिजिटल साधनका कारण यो परम्परा बिस्तारै हराउँदै गएको स्थानीयको भनाइ छ। तर पछिल्ला वर्षहरूमा युवाले फेरि यसलाई पुनर्जीवन दिन थालेका छन्।

बाँके जिल्लाको कोहलपुर, बैजनाथ र खजुराका चोक–चोकमा लिङ्गे पिङ राखिएको छ। बिहान–साँझ बालबालिका मात्र होइन, कामकाज सकेर आएका युवादेखि वृद्धसम्म पिङ खेल्न उस्तै उत्साहित देखिन्छन्। यसरी पिङले न केवल रमाइलो दिएको छ, समुदायलाई एकताबद्ध गर्ने माध्यम पनि बनेको छ।

दसैँ विशेषगरी मिलनको चाड हो। बाहिर गएका युवाहरू आफ्ना परिवार भेट्न गाउँ–शहर फर्कन्छन्, र लिङ्गे पिङजस्ता मौलिक खेलहरूले उनीहरूलाई पुरानो संस्कृति र परिवेशसँग नजिक्याउँछ। स्थानीय संघ–संस्था र युवाको सक्रियताले सुरु गरेको यो अभियानलाई धेरैले सराहना गरिरहेका छन्।

विशेषज्ञहरूको भनाइमा, परम्परागत खेल–मनोरञ्जन जोगाउनु नै सांस्कृतिक धरोहर संरक्षणको पहिलो पाइला हो। दशैँमा पिङ जस्ता सांस्कृतिक गतिविधिहरूले बालबालिकालाई खेलकुदसँगै संस्कृतिप्रति आस्था जगाउने काम गर्छ।

कोहलपुरमा अहिले बिहानैदेखि बेलुकीसम्म पिङमा रमाउनेहरूको आवाज सुनिन्छ—हाँसो, चिच्याहट र उत्साह। यसले दशैँ आएको अनुभूति थप बलियो बनाएको छ। लिङ्गे पिङ केवल खेल होइन, परम्परा, संस्कार र सामुदायिक एकताको प्रतीक बनेको छ, जसले कोहलपुरवासीलाई फेरि पुरानो मौलिक दसैँको स्वाद चखाइरहेको छ।

यसरी युवाको सक्रियता र स्थानीयको सहभागितामा सजिएका पिङहरूले कोहलपुरमा दसैँलाई अझ रमाइलो र अर्थपूर्ण बनाइदिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button