पर्वतीय दौडमा १ सय ६० धावक सहभागी हुँदै
पोखरा । विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्वतीय दौड हुन लागेको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तूपदेखि कालाबाङ घडेरी बुद्ध पार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपाल सहित ६ देशका १ सय ६० जना धावकले नाम दर्ता गराएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा नेपालसहित बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका र स्पेनका धावकहरूले नाम दर्ता गराएका छन् ।
नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । खुल्ला तर्फको विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार तेस्रो हुनेलाई १५ हजार प्रदान गरिने भएको छ ।
यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई समन गरिने भएको छ । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको हो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित हुनुभएको थियो ।
नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । विश्व शान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, राखेप, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, पोखरा भ्रमण वर्ष २०२५, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल वाराही लगायतको सहयोग छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटी वान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साथ दिएको छ ।
खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गर्नुभएको छ । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताउनुभयो ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने तयारी गरिएको स्थानीय मिलन गुरुङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्