राष्ट्रसङ्घबाट प्राप्त हुने १ करोड ५२ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोष र विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब १ करोड ५२ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले विश्व खाद्य तथा कृषि सङ्गठन मार्फत प्राप्त हुने करिब ८८ लाख अमेरिकी डलर, विश्व वातावरण सुविधा बाट संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन मार्फत प्राप्त हुने २२ लाख ४२ हजार र संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोषबाट प्राप्त हुने ४१ लाख ९० हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको गरेको हो ।
असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यी अनुदान सहायता जलवायु अनुकूलनशील जीवनयापन, कृषि, बन तथा वातावरण सम्बन्धी परियोजनाहरूमा खर्च हुने जानकारी दिनुभयो ।

यस्तै सरकारले राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायतका निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका उपमहानिर्देशक जनकराज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी जिम्मेवारी तोक्ने निर्णय गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय भ्रमणहरू स्वीकृत गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा ३ करोड रुपैयाँ भन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, नेपाल सरकार मन्त्रिपरिषद्का राजनीतिक, आर्थिक तथा पूर्वाधार, प्रशासन, विधेयक र सामाजिक समितिहरू गठन गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जनकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्