जनचासोका विषयलाई प्राथमिकता दिनुपर्छ: कार्यकारी अध्यक्ष डा. बिष्ट

रेडियो नेपाल सिंहदरबारमा आज बडा दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले जनताको विशेष सरोकार र चासोका विषयलाई अहिलेको अवस्थामा अझ बढी स्थान दिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

कार्यकारी अध्यक्ष डा. बिष्टले पुनरुत्थान र विकासमा हामी सबै मिलेर लाग्नुपर्ने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका का. मु. प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले कठिन परिस्थितिमा खर्च नियन्त्रण र आपूर्ति व्यवस्थामा ध्यान दिनुपर्ने तथा सामूहिक लक्ष्यसहित रेडियो नेपाललाई अघि बढाउनुपर्ने बताउनुभयो ।

आर्थिक प्रशासन महाशाखाका प्रमुख मनोज चौधरीले अर्थ मन्त्रालयको खर्च कटौतीबारे जानकारी दिँदै कठिन समयमा आवश्यक नीतिनिर्देशनको पालना गर्नैपने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष भुषण कुमार पोखरेलले कर्मचारी सेवा सर्त विनियमावली र आर्थिक विनियमावली कर्मचारीको हितमा बनाउनुपर्नेमा जोड दिँदै रेडियो नेपालको प्रसारणलाई परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेत नारायण पौडेल, रेडियो नेपाल कर्मचारी युनियनका महासचिव रामकाजी आचार्य, करार प्रतिनिधि खड्क गन्धर्व र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव गणेश महराले शुभकामना मन्तव्य राख्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्