माओवादी केन्द्र: केन्द्रीय समिति बैठकमा समुुहगत रुपमा धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी सातौँ केन्द्रीय समितिको बैठकमा आज दोस्रो दिन केन्द्रीय सदस्यहरूले समूहगत रुपमा धारणा राख्ने क्रम जारी छ ।

काठमाडौँको प्रज्ञा भवन कमलादीमा जारी बैठकमा समूहगत धारणा राख्नेक्रममा बहुमत केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको प्रस्तावलाई पारित गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठकमा प्रस्तुत दस्ताबेजमाथिको छलफल गर्न १० वटा समिति गठन गरिएका छन् ।
माओवादी केन्द्रको हिजो देखि शुरु भएको केन्द्रिय समिति बैठकमा नेतृत्वका विषयमा तीन थरी प्रस्ताव आएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केन्द्रिय समिति विघटन गर्ने र मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्षले पद छोड्नुपर्ने र वरिष्ठलाई कार्यवाहक दिनुपर्ने र उपमहासचिव जनार्दन शर्माले मंसिरमा विशेष महाधिवेशन सम्भव नभएको दाबी गर्दै सबै पदाधिकारीले राजीनामा दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्