तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

चितवन ।  एक सातामा पटक पटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । 

उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटक पटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ । तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । 

“सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ । यसअघि नाम्सीमा दुई दिनअघि पहिरो खस्दा अड्किएका ढुङ्गा पनि खसेकाले पहिरोको तत्काल पहिरोको जोखिम देखिएको छैन । हाल सडक सुरक्षित देखिन्छ”, लामिछानेले भन्नुभयो,“यस सडकखण्डमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको छ । तत्काल पहिरोको जोखिम नदेखिए पनि  पूर्ण भर गर्नसक्ने अवस्था नरहेकाले सावधानीपूर्वक आवतजावत गर्न हाम्रो आग्रह छ ।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति नै रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइएको बताउनुभयो । निकै मेहनतका साथ काम गरेकाले ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको भन्दै उहाँले हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालन रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button