तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जेनजी प्रदर्शन क्रममा मृत्यु भएकाको परिवारलाई प्रति परिवार १५ लाख उपलब्ध गराउने

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने

काठमाडौँ । सरकारले जेनजी प्रदर्शन क्रममा मृत्यु भएकाको परिवारलाई प्रतिपरिवार १५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जेनजी प्रदर्शनका क्रममा (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक) मृत्यु भएका नेपाली नागरिकका परिवारलाई प्रति परिवार १० लाख र आर्थिक सहायता अन्तर्गत काजक्रिया, खाना र यातायात खर्च बापत ५ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै, सञ्चार मन्त्री खरेलले छापाखाना तथा प्रकाशन ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको मन्त्री खरेलले बताउनुभयो ।

यस्तै मन्त्री खरेलले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल सरकारको प्रवक्तामा सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button