तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन नौबिसे सडक खुल्यो, तुइनखोलाको पहिरो पन्छाउने क्रम जारी

चितवन  । मुग्लिन नौबिसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

बुधबार राति ९ बजे पहिरो खसेर दुईतर्फी नै सडक बन्द रहेकोमा रातभर काम गरेपछि बिहानबाट यातायात सञ्चालनमा आएको हो । अहिले दुईतर्फी नै गाडी सञ्चालन भएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । यस सडकखण्डमा खसेको पहिरो पन्छाए पनि फेरि पहिरो झर्ने जोखिम भने कायम रहेको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मङ्गलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन । बुधबारदेखि नै पहिरो पन्छाउने काम भए पनि ठुलो पहिरो खसेका कारण काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।

तुइनखोलाको पहिरो बिहानैदेखि पन्छाउने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकखण्डमा आएको पहिरोका कारण मुग्लिनमा रोकिएका सवारी साधनले पोखरा काठमाडौँका यात्रा कठिन भएको छ । सवारी साधनको जामले गर्दा पोखरा जान समस्या भएको छ । ट्राफिक नियम विपरीत सवारी साधन रोकिदिँदा सडक नै अवरुद्ध भएको छ । मुग्लिन प्रहरीले रोकिएका सवारी साधनलाई व्यवस्थित पारेर पोखरा, काठमाडौँ यातायात सहज सञ्चालन गराउन प्रयास गरिराखेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button