तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज: अस्पतालहरुमा ६ महिनादेखी एन्टि–रेबिज भ्याक्सिनको अभाव

वीरगञ्ज । सघिंय सरकार माताहात रहेको वीरगन्जको नारायणी अस्पताल सहित बारा,पर्सा जिल्लाका सरकारी अस्पतालहरूमा बिगत ६ महिनादेखी सरकारले उपलब्ध गराउँदै आएको एन्टि–रेबिज भ्याक्सिनको (एआरभी) अभावको कारण  बिरामीहरू प्रभावित भएका छन् । 

एन्टि–रेबिज भ्याक्सिनको अभावका कारण कुकुर, बिरालो वा स्यालको टोकाइबाट प्रभावित घाइतेहरूको जीवन जोखिममा परेको छ भने उनीहरू महँगोमा निजी स्वास्थ्य संस्थामा उपचारका लागी धाउन बाध्य भएका छन् ।

प्राप्त जानकारी अनुसार नारायणी अस्पतालमा विगत करिब ६ महिना देखि तथा पोखरिया अस्पतालमा तीन महिना देखि रेबिजविरुद्धको खोप सकिएको छ । समग्रमा पर्साका सरकारी अस्पतालहरूमा विगत आठ महिना देखि नै यो जीवनरक्षक खोपको उपलब्धतामा गम्भीर संकट आएको छ ।

पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) आनन्द रौनियारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बारम्बार जानकारी गराउँदा पनि अहिलेसम्म खोप नपठाइएको बताउनुभयो । 

रेबिजविरुद्धको खोप लिनका लागि वीरगञ्ज र आसपासका गाउँहरूबाट मात्र नभई छिमेकी जिल्लाहरूबाट समेत सेवाग्राहीहरू नारायणी अस्पतालमा आउने गर्छन् । तर, खोप नहुँदा उनीहरू रित्तै हात फर्किनुपर्ने बाध्यता छ ।

नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंहले बारा, पर्साको ग्रामीण क्षेत्रबाट दैनिक २० देखि २५ जना सेवाग्राहीहरू आउँछन् । सुई नभएकोले त्यसै फर्काउनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । डा. सिंहले खोपको माग गर्दा पनि स्वास्थ्य विभागले उपलब्ध गराउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउने भनिए पनि सेवा शुल्कबापत करिब १०० रुपैयाँ लिइने यो खोप अभावका कारण बिरामीहरूले निजी मेडिकल वा क्लिनिकहरूबाट खरिद गर्न बाध्य भएका छन् । निजी औषधी पसल वा क्लिनिकहरूले प्रति भाइल ५ सय देखि ७ सय रुपैयाँ सम्म लिने गरेका छन् । चिकित्सकहरूले आवश्यकता हेरी तीनदेखि पाँच भाइरलसम्म सुई लगाउन सल्लाह दिने भएकाले, आर्थिक रूपमा कमजोर रहेका बिरामीहरूलाई यो ठूलो आर्थिक भार परेको छ ।

कतिपय बिरामीहरू खोप लिनैका लागि सीमावर्ती भारतको रक्सौलस्थित डंकन अस्पतालमा जान बाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button