तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

गलकोट (बागलुङ)। यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् ।

जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् ।

दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेँडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिउने गरिएको बलबहादुर थापाले बताउनुभयो । बर्सेनि बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा भित्र्याउँदै आउनुभएका उपल्लाचौरका थापाले यस पटक २९ वटा मात्रै च्याङ्ग्रा भित्र्याएको जानकारी दिनुभयो ।

उहाँले प्रतिच्याङ्ग्रा रु ३५ हजारदेखि रु ३७ हजारसम्ममा बिक्री हुने गरेको बताउनुभयो । च्याङ्ग्राको मासु काटेर प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री गर्दै आएको भन्दै थापाले मूल्यवृद्धि भएकाले पछिल्लो समय च्याङ्ग्राको मासु कम खपत हुन थालेको अनुभव सुनाउनुभयो । गत वर्ष जिल्लामा तीनसय भन्दा बढी च्याङ्ग्रा भित्रिने गरेकामा यस वर्ष मूल्य वृद्धि भएसँगै उक्त सङ्ख्यामा कमी आएको हो ।

“स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन । आर्थिक अवस्था कमजोर हुनेले खानै सक्दैनन्”, थापाले भन्नुभयो, “मुस्ताङबाट चार दिनमा च्याङ्ग्रा ल्याएको हो, रोज्जा च्याङ्ग्राको मूल्य रु ३७ हजार पर्दछ ।” उहाँले पहिला जस्तो च्याङ्ग्रा व्यापारमा नाफा नभएको बताउनुभयो ।

थापासँगै बागलुङका ज्ञानेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर केसीले यस पटक ३०÷३० गरी ६० वटा च्याङ्ग्रा भित्र्याउनुभएको छ । बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आउनुभएका केसीले लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने कामलाई निरन्तरता दिइराख्नुभएको छ । च्याङ्ग्राको आयात थोरै हुँदा मूल्य बढेको उहाँको भनाइ छ । मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका उहाँले जानकारी दिनुभयो ।

गोठबाट उतैका व्यापारीले च्याङ्ग्रा मुस्ताङको सदरमुकाम जोमसोम ल्याउने र आफूले त्यहाँबाट खरिद गरेको केसीले जानकारी दिनुभयो । हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा बागलुङ झार्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button