विद्युत् विस्तारपछि गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’
भोजपुर। विद्युतीकरणपछि यहाँका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् । यसरी विद्युत् बिस्तार भएको गाउँ हो-भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठे ।
यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ । भौगोलिक रुपमा विकट मानिएको यस क्षेत्रमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा नै परिवर्तन आएको हो ।
विद्युत् पहुँचले कुटानी, पिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडासदस्य जानुका सुयल बताउनुहुन्छ । गाउँ–गाउँमा विद्युतीय मिल जडान भएपछि एक दिनसम्म लगाएर कुटानी, पिसानीका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको उहाँले सुनाउनुभयो ।
विद्युत् पहुँचपछि स्थानीय तहले उद्यमशीलता विकासमा सहजीकरण गरिरहेको छ । वडाध्यक्ष एकराज आचार्यले कुटानी–पिसानी समस्या समाधान गर्न १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको जानकारी दिनुभयो । स्थानीयको कुटानी–पिसानीको समस्या अन्त्यका लागि वडाले विद्युतीय मिल दिएको उहाँको भनाइ छ । “वडाका सबै स्थानमा विद्युत् पहुँच पु¥याउन सफल भएका छौँ । त्यसैले विद्युत्को उपयोगबाट जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा ध्यान दिएका छौँ । स्थानीयलाई कुटानी–पिसानीमा सहजता थप्न विद्युतीय मिल वितरण गरेका छौँ”, वडाध्यक्ष आचार्यले भन्नुभयो ।
मिल वितरणसँगै स्थानीयलाई उद्यशीलतासँग जोड्न प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो । अब रैथाने बाली कोदो, गहुँ, जौ, फापरको पीठो बनाएर बजारीकरण गर्ने योजना रहेको र त्यसका लागि ‘बैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम भइरहेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो। “हामीले रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएका छौँ । रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन पनि गरिरहेका छौँ । यहाँका रैथाने उत्पादनलाई पिसेर, कुटेर सहर पठाउने लक्ष्य छ । विद्युतीकरणले यसमा थप सहज भएको छ”, उहाँले भन्नुभयो ।
विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै स्थानीयवासीलाई सूचनाको पहुँचमा जोडिन पनि सहज भएको वडासदस्य जयन्द्रकुमार राईले बताउनुभयो । विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरायसी कामकाजमा समेत सहजता भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्