तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा जुटेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पद बहालीका अवसरमा गर्नुभएको पहिलो निर्णय कार्यान्वयनका लागि प्राधिकरण जुटेको हो । 

काठमाडौँमा दुई महिनाभित्र र देशभरका दश सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गर्न सेवा प्रदायकहरूसँग छलफल गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका उपनिर्देशक एवं सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रीको निर्देशनलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउन थालिएको बताउनुभयो । 

इन्टरनेट सेवा प्रदायकमार्फत निःशुल्क वाइफाइ विस्तार गरिने भएकाले उनीहरूसँगको छलफलबाट प्राप्त प्रतिक्रिया र सुझावपछि थप काम अघि बढाइने उहाँले उल्लेख गर्नुभयो । 

सहायक प्रवक्ता पौड्यालका अनुसार निःशुल्क वाइफाइका लागि नयाँ स्थानको चयन, उपलब्ध भइरहेका स्थानमा गुणस्तरीयता बढाउने, डेटा सुरक्षा,  डेटा कति मात्रामा कति समयसम्म निःशुल्क उपलब्ध गराउनेलगायत विषय समेटेर रणनीति बनाइनेछ । 

“लागतको हकमा अलिकति समस्या हुनसक्छ । हाम्रो बजेट पहिला नै स्वीकृत भइसकेको छ । अहिले नयाँ कार्यक्रम ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले कार्यान्वयन ‘मोडालिटी’ कस्तो बनाउने भन्ने विषयमा छलफलको चरणमा छौँ”, उहाँले भन्नुभयो, “सेवा प्रदायकबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो बुझेर कार्यान्वयनका लागि रणनीति बनाएर अघि बढ्छौँ ।”

प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार उक्त रणनीति बनाएर कार्यान्वयन गर्ने जनाएको छ । प्राधिकरणलाई तोकिएको समय सीमाका कारण तत्काल काठमाडौँबाट सेवा सुरु गर्नुपर्ने हतार रहेको सहायक प्रवक्ता पौड्यालले बताउनुभयो । 

“सबै सेवा प्रदायक, मुख्यतः हटस्पट सेवा दिइरहेकालाई प्राधिकरणले अघि बढाउन खाजेको छ”, उहाँले भन्नुभयो, “बजारमा ठुलो शेयर हिंसा भएका सेवा प्रदायकहरू मोबाइल सेवा प्रदायकदेखि एनसेल, नेपाल दूरसञ्चार र आइएसपीका ठूला अपरेटरहरूसँग सहकार्य गर्दैछौँ ।” 

सञ्चार मन्त्रीको निर्देशन कार्यान्वयन गर्नका लागि वाइफाइको ‘कभरेज’ विस्तार गर्न समस्या नभएको उल्लेख गर्दै उहाँले हटस्पट र मोबिलिटी फरक विषय भएको स्पष्ट पार्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button