‘आम निर्वाचनको वातावरण बनाउनु नै सरकारको मुख्य कार्यभार’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जनतालाई सुशासनको अनुभूति दिलाउँदै फागुन २१ गते हुने आम निर्वाचनको वातावरण बनाउनु नै अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनमा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा सञ्चार मन्त्री खरेलले सुशासन कायम गर्न र निष्पक्ष निर्वाचन बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुने बताउनुभयो ।

सञ्चार मन्त्री खरेलले सुशासन जेन्जी आन्दोलनले उठाएको मूल मुद्दा भएकोले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा जनताले महशुस गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चार मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण पिएसविले राष्ट्रप्रति जिम्मेवार र जबाफदेही रहने गरी स्वतन्त्र रुपमा काम गर्न र जनताका मुद्दालाई खरो रुपमा उठाउन निर्देशन समेत दिनुभयो ।
त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पिएसवीले जनभावनालाई केन्द्रमा राखेर प्रसारण सामग्रीहरू उत्पादन गर्नुपर्ने बताउनुभयो ।

सञ्चार सचिव अर्यालले पछिल्लो समय सञ्चारकर्मीको सुरक्षा चुनौती बढ्दै गएकोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्नुहुँदै पत्रकारिता पेशालाई सुरक्षित र मर्यादित बनाउन सबैसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण पिएसविका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले दिगो र भरपर्दो आर्थिक श्रोत सुनिश्चित हुन सके मात्रै पिएसविलाई बजार र सरकार दुवैको दबाबबाट मुक्त बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्री जगदिश खरेलले हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०८२ पत्रकार सुरेश रजकलाई मरणोपरान्त प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले प्रदान गर्ने हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।
पत्रकार सुरेश रजकको गएको चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको आन्दोलनको समाचार सङ्कलनका क्रममा आगलागीमा परी निधन भएको थियो ।

यस्तै समारोहमा सञ्चार मन्त्री खरेलले नेपाल टेलिभिजनका समाचार सम्पादक प्रदीपकुमार चापागाईँलाई राजेन्द्रदेव आचार्य स्मृति सम्मान एवं अपरेशन महाशाखा प्रमुख रोशनीदेवी तुलाधर र कार्यकारी दृश्य सम्पादक मिश्रीलाल यादवलाई वीरेन्द्रदेव कार्की स्मृति सम्मानबाट सम्मान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्