पर्सामा झाडापखाला तथा हैजाका शङ्कास्पद बिरामीहरू बढ्दै
वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू फेरि बढ्न थालेका छन् ।

आइतबार जिल्लाका विभिन्न अस्पतालमा झाडापखालाका २७ बिरामीले उपचार गराएका थिए भने सोमबार २८ जना र आज अपराह्न सम्म ३१ जना झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू उपचारका लागी अस्पताल पुगेका छन् । गत शनिबार यता करिब १ सय २१ जना भन्दा बढी झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू अस्पतालमा भर्ना भएका छन् ।
शनिबार यता झाडापखाला तथा शङ्कास्पद हैजाका १२१ नयाँ केस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अहिले फेरि दिनहुँ झाडापखालाका नयाँ केसहरू आउन थालेका छन् । जसकारण शनिबारदेखि भने यो ग्राफ पुनः रेड जोनतर्फ बढ्न थालेको छ । सरकारी तथ्याङ्क अनुसार आज अपराह्न सम्म जिल्लाभर कुल १५३३ केस दर्ता भएका छन् । जसमध्ये १४९५ जना उपचारपछि निको भएर घर फर्किसकेका जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
३८ जना बिरामीहरू अझै विभिन्न अस्पतालमा उपचाररत रहेका कार्यालयले जनाएको छ ।
यसैगरी झाडापखाला तथा हैजा फेला परेको एक महिनाको अवधिमा जिल्लाभर २४२ जनामा हैजा पुष्टि भएको छ, जसबाट २३८ जना निको भएर घर फर्किसकेका छन् । हैजा पुष्टि भएका ४ जना बिरामी मात्रै अहिलेसम्म अस्पतालमा उपचाररत छन् ।







प्रतिक्रिया राख्नुहोस्