तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धामा खरो उत्रन सञ्चारमन्त्री खरेलको आग्रह

काठमाण्डौँ I नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको सिंहदरबारस्थित कार्यालयको निरीक्षण गर्नुभएको छ । 

त्यस क्रममा सञ्चारमन्त्री खरेलले नेपालको प्रसारण पत्रकारितामा पुरानो इतिहास र विरासत बोकेको रेडियो नेपालकै समाचार तथा कार्यक्रम सुनेर आम नागरिकले  सूचना लिने  गरेको इतिहास स्मरण गर्नुभयो । 

सञ्चारमन्त्री खरेलले परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको रेडियो नेपालले बदलिँदो  समयअनुसार सूचना प्रविधिको उच्चतम प्रयोग गरी अरू सञ्चार माध्यमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले, रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज भएकाले त्यसलाई कार्यान्वयन गर्न समाचार तथा कार्यक्रमका विषयहरू थप समावेशी बनाउन पनि आग्रह गर्नुभयो । 

मन्त्री खरेलले रेडियो नेपालको सङ्गीत स्टुडियो, प्रसारण स्टुडियो, समाचार कक्ष तथा नाट्य स्टुडियो र भदौ २४ गतेको प्रदर्शनमा पुगेको क्षतिको अवलोकन समेत गर्नुभयो । 

नवनियुक्त मन्त्री खरेललाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, मन्त्रालयका सचिव राधिका अर्याल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, निमित्त नायव कार्यकारी निर्देशक पुष्कर राज गाैतमलगायतका पदाधिकारीहरूले रेडियो नेपालमा स्वागत गर्नुभएको थियो ।  

तस्विर: मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button