तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । 

विशेष गरी अन्तर्राष्ट्रिय उडानमा चाप भए पनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दसैँमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ । केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन् । कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन् । “अन्तरराष्ट्रियतर्फ आवागमन बढ्दो क्रममा छ । आन्तरिकमा साबिक बमोजिम सामान्य छ”, प्रवक्ता शेर्पाले भन्नुभयो, “अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ ।”

प्रवक्ता शेर्पाका अनुसार शनिवार अन्तरराष्ट्रियतर्फ १०६ उडान भएका छन् । जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए । यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन् । आन्तरिकतर्फ २२२ उडान भएका छन् । यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छ भने भित्रिनेको सङ्ख्या चार हजार ६५ रहेको छ ।

आइतबार अन्तरराष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन् । छ हजार ८०० यात्रु बाहिरिएका छन् । आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र पाँच हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button