तपाईँ सुन्दै हुनुहुन्छः

‘बाढीले अन्नपात बगायो, दसैँका लागि खानेकुरा पनि छैन’

कञ्चनपुर । कञ्चनपुरमा गत भदौमा अविरल वर्षापछि आएको बाढीका कारणले डुबान हुँदा सयौँ परिवार विस्थापित भए । विस्थापित भएकाहरू घर त फर्किए, तर घरमा रहेको अन्न, लत्ताकपडा र भाडाकुँडा बाढीले बगाएकाले खान लाउन समस्या भोग्नु परेको छ । 

यहाँको दोधारा चाँदनी नगरपालिकामा–४ मा जोगबुडा नदीको बाढी बस्ती पस्दा ठूलो नोक्सानी भएको थियो । वडा नं ३, ८, ९ र  १० का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् । यहाँका एक सय ६५ परिवार बाढीबाट विस्थापित भएका छन् । बस्ती पसेको बाढीले लत्ताकपडादेखि अन्न बगाएपछि चाडपर्वमै कसरी हातमुख जोर्ने भन्ने समस्या आइलागेको छ । 

दोधारा चाँदनी–१० शान्तीटोलका वृद्धकली सार्कीले भन्नुभयो, “घरभित्र रहेका अत्यावश्यक सबै कुरा बाढीले बगायो । त्यसबेला ज्यान त जोगायौँ, तर के खाएर बाच्ने रु बाढीले अन्नपात सबै बगाएपछि साझ बिहानको छाक टार्नसमेत मुस्किल भएको छ ।” गत वर्ष पनि यस्तै समस्या आएको थियो । त्यस बेला सरकारले दाल चामल सहयोग गरेकाले दसैँमा जसोतसो गुजारा टरेको थियो । 

स्थानीय चम्पा सार्कीले धेरै विस्थापित बालबालिका छोडेर रोजगारी गर्न छिमेकी देश भारत पुगेको बताउनुभयो । 

बाढीले समस्या भएपछि  शान्ति टोलका हेमु सार्कीका आमाबुवा रोजगारीका लागि भारत जानुभएको छ । १३ वर्षीया हेमुलाई छिमेकीको जिम्मा लगाएर सार्की दम्पती रोजगारीका लागि भारत जानुभएको हो । “घरभित्र केही बाँकी छैन । पालिकाले केही भाडाकुँडा दिएको छ, तर त्यसमा के पकाउने ? लत्ताकपडा, अन्नपात केही छैन”, उहाँले भन्नुभयो, “घरमा केही नरहेपछि आमाबुवा भारत गएका छन् । म हजुरआमाको घरमा बस्छु ।” 

दसैँको समयमा विद्यालय बिदा भएकाले यहाँका थुप्रै स्थानीय रोजगारीका लागि भारत गएका छन् । पूर्वतिर महाकाली र पश्चिमतिर जोगबुडा नदी भएका कारण दोधारा चाँदनीका बस्ती बर्खायाममा हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button